सनिवारको झरी

सनिबार, फुर्सदको समय, आराम गर्ने दिन। अझ यसरी भनौ-हप्ताभरीको कामको लोड विर्सिएर आफू अनुकुल आफूलाई आफ्नै मनले डोहोर्याएर आफ्नै दुनियामा भ्रमण गराउने दिन।साच्चै सनिवार, हप्तामा एक दिन, वाह!

सनिवार सनिवार जस्तो तब हुन्छ, जब सनिवारलाई मनले आजको दिन सनिवार हो भनी चिन्छ। मन सबैको लागि मन नै हुन्छ। उसलाई त कुनै वार पर्खिन पर्दैन। जतिसुकै व्यस्त म रहुँ, जब मन चल्न थाल्छ, मेरा सबै काम तमाम गरिदिन्छ यहि मनले।

सँधैझै शुक्रबारको रात मेरा लागि फुर्सदिलो रात बन्छ, फुर्सदिलो यो मानेमा बन्छ कि मलाई अरु दिन जस्तो समयको रफ्तारमा हिड्न पर्दैन र थकाई मार्नको लागि रातमा निद चाहिन्छ। हो शुक्रबारको रात मनले मेरो निदलाई आफ्नो कावूमा नियन्तत्रीत गर्छ । घडिको सुइ चलेको आफूले सुइँको पाउदिन । रात सकिन्छ, बिहान मीठो निद्रा पर्छ। निद्रा साच्चै मीठो पर्छ। यदी कुनै कुराको स्वाद जिब्रोले थाहा पाउदैन र मीठो हुन्छ भने त्यो निद्रा नै हुन्छ। न त गुलियो हुन्छ न त अमिलो, या अरु कुनै स्वाद। तर निद्रा मीठो हुन्छ।

आँखा छोपिदा ओठहरु मलाई मुस्कुराउन प्रेरित गराँउछ्न

सवेरै निद्राको निद हराम गर्दै "वोतल-कागज" गुन्जयमान भएका ध्वनी मेरो लागि तीखो र तीतो बनेर कानभित्रै रहेको एअर ड्रम बजाउन पुग्छन। त्यस पछि आउँछ अर्को ध्वनी "कवाडी-फलाम" को नाममा। यो गुन्जयमानले अघिल्लो चोटिको जत्तिको तीतो पोख्दैन किनकी मेरो कान त्यस्तो ध्वनीतर्फ अभ्यस्तरत रहदै गरेको हुन्छ। जुरुक्क उठेर झ्याल बाट छिरेको सुर्यको प्रकाश अनुभुती नगरी पहिला आवाज निकाल्ने व्यक्ति नियाल्न पुग्छु। माघको काठमाडौंको ठण्डी, एकजोर हातीछाप चप्पल र त्यसमाथि एक जोर खुट्टा, एउटा थोत्रो साइकलको पछाडी जुटका दुई बोरा अनि ठिङ्ग एक व्यक्ति, उहि "वोतल-कागज" या "कवाडी-फलाम" पाउने ठूलो आसमा।झ्यालबाट छिरेको चिसो हावाले मनलाई जति चिसो बनायो, त्यो भन्दा कयौ गुना चिसो त्यो दृश्यले । र मेरो लागि सनिवारको पहिलो सिन ।

अनुहारमा परेको विहानीको सुर्यको प्रकाश पश्चिम तर्फबाट उड्दै गरेको हवाइजहाजको वेग सङ्गैको त्यसैको छायाले छेकिदियो। हवाइजहाजको हुईईईईई सङ्गै धरातलको सीन छायामा परिसकेको थियो। सनिवारको दोस्रो सीन।सीन सङ्गै उडिजाने यात्रु, हतारमा मानस्पटलमा बनेका विश्वका विशेषगरी नेपाली दाजुभाइले भ्रमण भिसामा गइ लुकिछिपी काम गर्ने देशहरु भनौ या कामको लागि जाने गरेका देशहरु सबैको इमेज बन्यो। समायोजन सङ्गै बहकिएको केही दिन देखिको मेरो मन मलाई नै सम्झाउन थाल्दै थियो। कि जान्छस त तँँ पनि हुईईईईईईइयाया नेपाली दाजुभाइ जस्तै, विदेश। एकपटक टाउको हल्लाएर कपाल मुसारे। मुसार्नुको एउटै कारण मनलाई मनले सोधेको प्रश्नको जवाफमा कुनै उत्तर नभेटेपछिको जटिल अवस्थाको क्षणिक समाधान थियो। हिजो शुक्रवारको अवेरको कुराकानीमा गाँँउको भाइले दाइ जापानीज भाषा तयारी गर्दा कसो होला भनेर सोधेको चासोलाई दिएको जवाफ सम्झे। जवाफमा भनेको थिए- ठूलो सङ्ख्यामा नेपालमा जागिर खुल्दै छ।लोकसेवा तयारी गर, लोकको सेवा गर्नुपर्छ भाइ। दिएको जवाफ सम्झिदै गर्दा आकाशमा उडेको हवाइजहाज कता पुगेछ पत्तो पाइन।

सनिवारको विहानी, प्राय जसो आजकाल युट्युबमा आउने शर्ट मुभी जस्तो छिटपुट कहानीले डोहोर्याउने गर्छ। कोहि सडकमा संघर्ष गर्छन कोहि आकाशमा । कस्ले भन्छ ससस्त्र द्वन्द्व सकियो? मेरो म भित्रको मन र मस्तिष्कको द्वन्द्व नेपालका नामि द्वन्द्व भन्दा कम्तीको छ र? कहिले सगरमाथाको चुचुरो चुम्बन गर्छ त कहिले अरुणको गल्छी, नगरोस पनि कसरी, यिनै चुचुरो र गहिराई, सुदुर पुर्व देखि सुदुर पश्चिम, पुग्नु जो छदै छ। समायोजन भएर।

कोहि भोकै वस्छन, किन बस्छन थाह हुन्न। कोहि भोकै बस्छन, दीर्घकालीन रुपमा कसैको भोक मेटाउने नाममा। अर्को भोकै बस्छ, अर्कोले भोकै वसेको बिरोधको नाममा। वास्तवमै भन्ने हो भने भोको हुनेहरुको नाममा कोहि भोकै बसेको हुन्थ्यो भने दुनियाको भोकमरी समस्या आज दूर भैसकेको हुने थियो ।
यस्तै-यस्तै सोच्दा घडिको सुईले साढे दस हानीसकेको रहेछ। हतार हतार उठेर खानाको बन्दोवस्त गरियो। कोहि भोकै वसे भन्दैमा आफूत भोकै बस्न भएन नि ।


खाना खाए पश्चात मोबाइलमा न्युज पढ्दै गर्दा आज दिनभर झरी पर्ने सम्भावना भन्ने न्युज पढेँँ। मन चुल्बुल गर्न थाल्यो। झरी- यो शब्दले मेरा लागि अत्यन्तै मित्रताको भाव छाडेको छ। मित्रता- यो शब्दले मलाई मित्रहरुको याद दिलाउछ। याद- यो शब्द मेरो लागि यस्तो शब्द हो जसले मेरा हरेक खाली समयलाई पुर्ण बनाउछ, भरी बनाउछ। चाहे त्यो पुर्णता खुसीको होस या त पिडाको । अनि झरी, म नाचौ ननाचौ, मेरो मन नाच्छ बेस्सरी। मन न हो उसलाई के मतलव, नाच्छ बेस्सरी। दुखाइको दर्द उस्ले खप्नु पर्दैन। सम्झिदिए भै गो। व्युत्याइदिए भै गो । एकान्तमा आँखालाई फुर्सद नहुने त हो । अनि आँखा- धेरैले मन पराउने मेरा आँखा । तर मन पराउनेहरुले आँखाको वनोट त मन पराए। आँखाको बाटो हुँदै भित्र पुग्दा आँखाले भोगेका अनवरत उतारचढाव  बुझिदिने ल्याकत कसैले राखेनन।

यस्तै गन्थनमन्थन चलिरहदा सनिवार वितेको पत्तो भएन । न त ज्यानको सफाई गर्न भ्याइयो न त ज्यान ढाक्ने कपडाको। अब मौसम पनि त कहाँ ज्यान पखाल्ने खालको छ र। यसो भनिरहदा ज्यान ढाक्ने कपडा त धुन सकिन्थ्यो नी भन्नू होला। सकिन्थ्यो तर आजकल आफ्नो आफ्नै खालको ट्रीक छ । सरकारले सेतो सर्ट लगाउन देकै छ। धेरै भए कल्दरमा मैलो देखिने हो । म पनि के कम, ट्याक्क कल्दरको मैलो छोपिने गरि रातो टाई झुन्ड्याइदिने हो घाटीमा । अब कस्ले भन्छ मैले सरसफाइ गरिन । न त घाँटीले भन्छ न त मेरो घाँटी हेर्ने अरु कोहि ले। पढ्दै गर्दा फोहोरी रैछ नभन्नु नि । कहि कतै भनेको सुनेको थिए कि तन जति सफा भए पनि केही हुन्न यदि मन नै धमिलो छ भने । मन कति सफा छ बुझेर त हेर्नुस एकचोटी ।

साच्चै सनिवारको यो झरी, झरीमा बहकिएको यो मनको मनपरी । गुम्स्याएर नराखी सियर गरिदिए सबै माझ । दिनभरीको मनको वह , यहि ब्लगमार्फत। फेरि भेटौला कुनै दिन। सम्झदै गर्नुस है, समायोजनले जहाँ पुर्याए पनि । र म ढुक्क छु कि हजुरहरु यहाँ सम्म पढ्दै गर्दा एउटा मुस्कान छाड्नु हुन्छ भनेर ।  

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५