नोकिया सोह्र सय

गाउँबाट शहर छिर्दै गर्दाका क्षणहरु मध्ये पहिलो पटक गाडी देख्दा र पहिलो पटक क्याम्पस जाँदाको दिन अझै स्मृतिमा रहिरहेका छन। पहिलो पटक बुबासँँग चरिकोट आउँदाको कुरा हो । तामाकोसी नदिको तीरै तिर लगभग तीन घण्टा हिडेपछी रातमाटे भन्ने ठाउँ र त्यहाँ बाट दुई घण्टाको उकालो बाटो पार गरेपछी ऐतिहासिक दोलखा बजार आइपुगिन्थ्यो। शहरी जीवनको आभाष दिलाउने त्यस बजारबाट चरिकोट हिडेरै आउँदा पनि बीस मिनेट लाग्ने रहेछ। दोलखा बजारमा चरिकोट जाने बस भेटिएन, हिडेरै जाने निधो गरि अगाडी बढ्यौ। अलिक परबाट बसको हर्न सुनियो। मन यति कापेको थियो कि रोडमा हिड्दै गरेको म रोडबाट बीस मिटर जति पर पुगेर बसलाई साइड दिएको थिएँ । त्यस्तै पहिलो पटक नयाँ युनिफर्ममा विद्यालयको जस्तै गरि झोलाभरी किताब बोकेर क्याम्पस पढ्न भनी हिडेको म क्याम्पसको  गेटबाट भित्र छिर्दै गर्दा चौरमा बसेका दुई केटिहरुको लागि हासोको पात्र बन्न पुगेको थिएँ । उनिहरु मलाई देखेरै हासेका थिए तर मेरो उपस्थितिमा त्यतिको गरि हास्नुको कारण मैले आजसम्म पत्ता लाउन सकेको छैन।
सायद व्याचलर पढ्दा ताका होला मैले पहिला याहु आइडि बनाएको थिएँ । सुरुमा साइवर जानू रहर हुन्थ्यो। गाउँबाट आएको करिब तीन वर्ष जति भएको थियो। गाउँमा सरकारी विद्यालय पढेको मलाई कम्प्युटर सम्बन्धी केही जानकारी थिएन। साइवर गएर कम्प्युटरमा याहु आइडी खोलेर एक घण्टा अलमलिएको दिन यति खुसीको दिन हुन्थ्यो कि कुरै नगरौ। त्यही याहु आइडीबाट फेसबुक आइडी खोल्न मिल्ने कुरा साइवर संचालकले बताए। सोहिअनुरुप फेसबुक खोलियो। हप्तामा एक पटक साइवर गएर फेसबुक खोलेको दिन हप्ताभरिकै उत्कृष्ट दिन हुन्थ्यो। कारण केही थिएन र पनि त्यति आनन्द लाग्थ्यो।

त्यही ताका नोकिया सोह्र सय मोडलको मोबाइल फोन मैले भेटाएको थिएँ । देशमा सुचना तथा सञ्चारको क्षेत्रमा आमूल परिवर्तन भएको भान हुन्थ्यो।सेट त भयो अब सिमकार्ड छैन। त्यो बेलामा सिमकार्ड हात पार्नु पनि ठुलै युद्द जित्नु बराबर हुन्थ्यो। बल्ल तल्ल सिमकार्ड लिएर मोबाइल बोक्न थालियो। मोबाइलको घण्टि महिनामा एक दुई चोटि बज्थे होला, घण्टी बज्दा वरपर साथीहरू भाको बेला बजिदिए हुन्थ्यो जस्तो लाग्थ्यो तर के गर्नु त्यसरी कहिल्यै बजेन। बिहानको कलेज थियो। कलेज जादा मोबाइलमा एउटा गीत थियो त्यही बजाएर कलेजसम्म आधा घण्टाको बाटो पार गरिन्थ्यो।गीतले भन्थ्यो- के सन्देश बोकि ल्यायौ .... .... हे बादल आकाश ढाकी ।
जमाना यसरी परिवर्तन भयो। आज सबको हातमा स्मार्ट फोन छ। फेसबुकको मोनोपोली तोडिएको छ, प्रतिस्पर्धामा अनेकन सामाजिक संजाल संघर्ष गरिरहेका छ्न । आजकाल मानिसलाई स्मार्ट फोन मा तस्वीर खिच्दा पनि सन्तुष्टी मिल्दैन जुन सन्तुष्टि त्यतिबेलाको नोकिया सोह्र सय मोडलमा तस्वीर लिदा मिल्थ्यो। समय सगै परिवर्तन हुनु त पर्यो नै, म पनि आजकाल च्याट गर्दा आधुनिक इमोजीहरुको प्रसस्तै प्रयोग गर्छु। मलाई गाला रातो पारेर मुस्कुराएको इमोजी सेन्ड गर्न धेरै मन पर्छ। अझ यसरी भनौ- च्याटमा मेरा लागि तारिफका शब्द खर्चने उनलाई मैले सेन्ड गर्ने त्यो इमोजी उनले गरेको तारिफभन्दा बृहद गुना बढी उनलाई लाग्छ। मानिस स्वार्थी छ, म स्वार्थी छु। हैन हैन मेरो मन स्वार्थी छ। दुई चार तारीफ नसुनी निद्रै लाग्दैन । अब बुझिहाल्नु भयो उनलाई पनि त दुई चार चोटि गाला रातो पारेर मुस्कुराएको इमोजी नपठाए निद्रै लाग्दैन।
स्मार्ट फोनमा भिडियो अन गरेर आफ्नै सामुन्य बसेरै अनेकन प्रीतका कुरा गरेझै गर्दा देखिने प्रीत भन्दा  सोह्र सयको मेसेज बक्समा हेल्लो सन्चै हुनुहुन्छ भन्ने मेसेजमा हुने उनको सुन्दरता, मलिनता, माया , प्रेम र चाहना धेरै नै प्राकृतिक लाग्थे । कारण एउटै थियो कि भरोसा । उत्कृष्ट शब्द खर्चेर लेखिएका अनलाइन का लेखहरुको भार कम्ती त छैनन तर पनि मुनामदन पढ्दाको आनन्द जति आनन्द अनलाइनका लेखमा आउदैनन। कारण एउटै छ कि बिस्वास लाग्दैन। अझ यसरी भनौ अनलाइनका शब्दहरु चोरिएका जस्ता लाग्छन। लागेको त्यस्तो मलाई हो है, हजुरहरुलाई त्यस्तो नलाग्न सक्छ। सायद नलागेरै होला लेखिएका लेखहरु पढेपछी तारीफ पाउने गर्छु। लेख पढेर आनन्दित हुनेहरुको तारीफ सुन्दा मन झनै आनन्दित हुदो रहेछ । म पनि त गर्थे बदलामा यस्तो तारीफ:

कति राम्रो लेख्नुहुन्छ ,पढौ पढौ लाग्ने
भन्थ्यौ पढे पछि सबै,  रिसराग भाग्ने 
तर तिमिलाई थाहै छैन, तब लेख्छु म 
जब तिम्रो सौन्दर्यता, हुन्छ सीमा नाघ्ने 

हिजो र आजका कुरा गरेँँ। हो मेरो लेखमा हिजो र आज अर्थात भूत र वर्तमान पाउनु हुन्छ। किनकी वितेका कुराहरु वर्तमानमा मेरा लागि जिउने आधार हुन्छन। राम्रा कुरा इन्स्पाइरेसन भएर आउछन भने नराम्रा कुराहरु पाठ बनी स्मरणमा रहन्छन। भविस्य सोच्न कहिल्यै जानिन। अझ यसरी भनूँँ - एक यात्री जो यात्रा गर्दा दूरमा कहाँ पुगिन्छ मतलव राख्दैन तर हरेक पाइला हेरेरै टेक्छ कि टेकेपछी नभासिओस।जीवनमा धेरै ठूलो आकाङ्क्षा बोकेर हिड्नु हुन्न भन्ने लाग्छ किनकी आकाङ्क्षा पूरा नहुदा धरातलबाट धेरै तल भासिएका हरु धेरै नै देखेको छु। गन्थनमन्थन गरेँँ । किनकी भरे फेरि गाला रातो भएको मुस्कान सहितको इमोजी सेन्ड गर्न त पाइन्छ।   

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५