यो शहरदेखी त्यो गाउँ सम्म

यसपालिको दशै सधैंझै रमाइलोमै बित्यो। चाडपर्वहरु मध्ये मलाई सबैभन्दा मन पर्ने चाड चाहिँ तिहार भए पनि मेरा लागि दशै स्पेसलनै बन्ने गर्छ। कारण तिहारमा जन्मथलो जान पाउदिन भनौ या परिस्थितिले काठमाडौ छाड्न दिदैन। पारिवारिक भेटघाट, साथीभाइ सङ्गको जमघट, सुखदुःख साटासाट अनि आमाबाबुको ममताको बगैंचामा थोरै भए पनि घुलमिल हुन पाइन्छ दशैमा । 
यसपालीको दशै सधैको जस्तै भए पनि केही भिन्न रह्यो। पहिले दशैमा असोज लाग्नसाथ कोठाको भित्तामा झुन्ड्याइएको क्यालेन्डरमा घर जाने  दिन टिक लगाएर असोज महिनाको क्यालेन्डरको पन्ना नजान्ने बच्चाले खाली पन्नामा केरेझै केरिएका हुन्थे भने घटस्थापनाको दिन देखिनै घर जाने तरखरमा रहिन्थ्यो, यसपाली त्यो रहेन। जसोतसो फुलपातीको दिन सम्म भने पनि घर पुगियो। खाडिचौर देखि चरिकोटसम्म बाटो अप्ठ्यारो छ, कसरी पुग्ने होला, कि खुर्कोट हुँदै जाउ, मनमा यस्तै यस्तै कुरा चलिरह्यो।अठोट गरि खाडिचौर हुँदै घर जाने तय गरियो। दाजुभाइ आलोपालो गरि मोटरसाइकल चलाउदै पुग्ने सम्झौता भएपनी त्यसो हुन सकेन कारण म थिए। मलाई अरु जतिसुकै मोटरसाइकल चलाउन जान्ने भए पनि पछाडी बस्नु पर्दा बिस्वास लाग्दैन भनौ या अत्यन्तै डर लाग्छ ।
बिहान सबेरै जानू धुलो उड्दैन, सहजै पुगिन्छ भन्ने मान्यजनका सल्लाह मेरा लागि सुनुन्जेलको लागि मात्र भए, किनकि मेरो लागि धुलो भन्दा बिहानको मीठो निद्रा कयौ गुना फलदायी थिए। अझ यसरी भनौ- मेरो लागि कोहि प्यारी छौ भने मख्ख नपर्दा हुन्छ कि म तिमिलाई सबै भन्दा बढी माया गर्छु, किनकि मलाई बिहानको निद्रा तिमी भन्दा प्यारो लाग्छ ।अझ यसरी बुझ कि तिमी मलाई अत्यन्तै माया गर्छ्यौ भने मलाई बिहानको निद्रामा कहिल्यै बिउझ्याउने हर्कत नगर ल । भन्न त भने जोसै जोसमा, पढे पछि अब आउने परिस्थितिलाई सामना गर्नु त छदै छ ।
खैर,जादै गर्दा बाटो यसरी परिवर्तन भयो कि खाडिचौर देखिको उकालोमा अगाडि बाट के आउदै छ, बाटो कत्रो छ, खाल्डो कहाँ छ, धुलो माटो को थाक कति अग्लो छ, कुनै अनुमान लाउन सकिन्नथ्यो। उकालोमा मोटरसाइकल यसरी चुइकिदै थियो कि मोटरसाइकल यदि सजिव हुन्थ्यो भने चौरासी लाख जन्म मध्ये एकै जन्म पनि म मान्छेको जन्म लिन नपाउने गरि सराप दिन्थ्यो। अप्ठेरो भएर मोटरसाइकल रोकि पछाडि फर्केको भाइले आफ्नो स्वरुप यसरी बदलिसकेछ कि उसले मलाई हेर्दा म तर्सिने जस्तो । यसो सोचे बाटो उही हो धुलो यौटै हो मलाई पनि त भाइ ले हेर्दा उसलाई देखेजस्तै देख्यो होला। केही नभनी अगाडि बढे। 
जाँदै गर्दा गफै गफमा यौटा प्रश्न गरे- यो बाटोमा यात्रा गर्ने हरेक यात्रुले हरेक पटक आफू थेचारिदै गर्दा मोटरसाइकलले सराप्छ भनेजस्तै सरोकारवालालाई कति सराप्छन होला हगि? भाइको उत्तर आयो- सराप लाग्ने भए आज सम्म चिल्ला मान्छे झन चिल्ला, फुस्रा मान्छे झनै फुस्रा किन हुन्थे र। साथमा पोहोर साल भुकम्पले घर भत्काए पछि घरको जग हाल्ने बेला घर आउदा आफूले त्यही बाटोमा खेप्नु परेको सास्ती सुनायो। फेरि प्रश्न गरे- यी सडक छेउछाउका बोटबिरुवालाई कति सकस हुदो होला हगि? प्रश्न खस्न नपाउदै उत्तर दियो भाइले- वोटविरुवा त परको कुरा वरपर बस्ने मानिसहरुले आफ्नो फोक्सोलाई धुलोको लेप्पन लगाएर बसेकै कारणले होला बोल्न सकेनछ्न, नत्र दवाव त दिन्थे होला। 
गफ चलिरहन्थ्यो, मोटरसाइकल भ्याट्भ्याट गरिरह्न्थ्यो।हुइकेर आएको अरनिको यातायातको बसले मैदा जत्तिकै पेलिएको धुलो शरिरको कुनै पनि भाग बाकी नराखी पुरै ढाक्ने गरि छ्यापिदिन्थ्यो। जसोतसो मुडे पुगिएछ। मुडे बाट अलिक पर डाडा देखि खरिढुङ्गा भन्दा अलिक वर सम्म करिव सय मिटर बाटोको पिच भत्किएको रहेनछ। मोटरसाइकल यसरी हुइक्याइयो कि सय मिटर दौडाउदा शरीरले कहि पनि थेचरिनु परेन। नेपाल आइडलका प्रतिस्पर्धी पवन गिरीले त्यही दिन चरिकोटको सातदोबाटोमा भेट्नेछु भन्ने स्टाटस राखेका थिए। चरिकोट पुगे पछि यता उता नजर लगाइयो पवन सातदोबाटो नजिकैको यौटा झुण्डमा रमाइरहेका रहेछ्न। उनको प्रस्तुति नछुटाई हेरेको थिए। हतारमा भएकोले मनमनै भोट तिमिलाई नै हो भन्दै घरतिरको बाटो लाग्यौँँ।
चरिकोटबाट घर जाने बाटो भने केही सरल भएछ। अप्पर तामाकोशीको काम लगभग सकिनै लागेर होला अब त्यहाको बाटो पनि पिच हुने तरखरमा रहेछ। अलि धुलो नउड्ने ठाउँमा(कालिन्चोक गाउपालिकाको अहिलेको कार्यालय छेउ) एकैछिन थकाई मार्न बसियो।घडी हेर्दा दिउसोको एक बजेको रहेछ । अब करिब एक घण्टाको बाटो पार गरेपछी त घर पुगिहालिन्छ। मनमा धुलो खेल्न छाडिसकेका थिए। अब आफ्नै गाउपालिकाको वारेमा कुरा खेल्न थाले।नखेलुन पनि कसरी, कालिन्चोक गाउपालिका सुरु हुनै लाग्दा गाउपालिकाको कार्यलय जो सडक मुनि थियो। सङ्घीयता कालिन्चोक गाउपालिकाको उत्तरी बेल्टको लागि सङगै तर यता न उता भने जस्तो भएछ। दिमागले सोच्यो - गणितमा केन्द्रबिन्दु कम्पासले कोरेको वृतको केन्द्रमा रहेजस्तो सामाजिक विज्ञानमा त नहोला तर केन्द्र भनेर सिमानाको किनारामा हुनुपर्छ त नभन्ला। म मा यो बिद्रोही भावना जाग्नु स्वभाविक थिए किनकी म भित्र पनि चेतना छ। तर मनमनै सोचे मनैलाई भने-चुनावमा विस्वास गरि सर्वसाधारणले त चुनेकै छन, चुन्न त चुने तर सधैको लागि अवश्य हैन।
सडकको किनारामा प्रतेक पचास मिटर कट्न नपाउदै राँगा भैंसी ढलाएको भेटिन्थ्यो। जहाँ भेटिन्थ्यो मोटरसाइकल अझ तिब्र गतिमा दौडाउथेँँ। दशै धेरैनै नजिकिसकेको भान हुन्थ्यो। घर पहिले भन्दा धेरै चाडो पुगिएछ।काराण सायद बाटोको धुलो थियो। धेरै पिरो खानु पर्दा मलाई चाडो खाएर सकाइहालौ जस्तो हुन्छ। मतलव मलाई अप्ठेरो काम चाडै सकिहालौ हुने भएकोले होला अप्ठेरो बाटोमा नजादिदो तरिकाले चाडो गरिएछ। घर पुगियो- घर बसुनजेलको अबधिको कुनै गुनासो छैन, हुदो हो त अघि  नै लेखी सक्थेँँ। सबै कुरा विर्सिएर रमाइयो दशैमा। आतिमियता, आतिथ्यता, आशिर्वाद जस्ता शब्दहरुले सबको घरमा आश्रय पाएका थिए।
दशै त सकियो । निन्याउरो मुख पार्दै आमा बुबाको मन भारी पार्दै, उहीँ रुटिङ्ग, उहीँ बाटो जो फर्कनु थियो। अर्को साल फर्कि आउने सङ्कल्प गर्दै कम्तिमा यात्रा गर्ने बाटो अर्को दशैमा विना सङ्कोच सरर घर गइन्छ भन्दै झिनो आशालाई मनमा राखेर जहाँ उत्रिनु थ्यो त्यहा उत्रनु पर्ने बाध्यता लाई स्वीकार गरियो। 

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५