प्रणय दिवसको दिन

आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस। आज भन्दा करिव बाह्र साल पहिले जानी नजानी यो शब्द सुनेको थिए। कतिपयले उच्चारण गर्न नजानेर त कतिपयले खिसिट्याउरी तरिकाले यस दिनलाई ह्याप्पी भान्टाङभुन्टुङ्ग डे पनि भन्ने गर्दथे/ छन। गाउँले परिवेशमा हुर्केको सरकारी विद्यालयमा पढेको म दुरदराजको एउटा वालक (त्यो वेलाको) लाई के थाह भ्यालेन्टाईन डे के हो। न त्यो वेलामा अहिलेको जस्तो टेक्नोलोजीको विकास भाको थ्यो न त कोहि कसैले यसको वारेमा प्रष्ट्याउने प्रयास गरेका थिए।

त्यो वेलाको समयमा म बस्ने ठाउँबाट कलेज सम्म आउने बाटो हिडेर करिब पैंतिस मिनेट्को थियो। कलेजमा अरु विषयको पढाइ विहानी सत्रमा हुन्थ्यो तर विज्ञान विषय पढ्नको लागि दिवा सत्र पर्खनु पर्दथ्यो। दिवा सत्रमा सदाझै पढ्नको लागि निस्केको मैले बाटोभरीनै हल्काफुल्का वर्षा र चिसो हावाको स्पर्श गर्दै गित सुन्दै कलेज पुगेको थिए। त्यो वेलाको नोकिया सोह्र सय को सेटमा "के सन्देश बोकि ल्यायौ, हे वादल आकाशै छोपी" भन्ने गित पाच पटक सुनेपछी आफू बस्ने घर बाट कलेज पुगिन्थ्यो। जति सुने पनि आनन्दित हुने त्यो गित अहिले पनि वेलावेला सुन्ने गर्दछु।
      
फागुनको समय, चिसो हटिसकेको थिएन। हल्का फुल्का पानी पर्दापर्दै हिउँ पर्न सुरु गरेको थियो। काठमाडौंमा त्यस पश्चात् हिउँ परेको मैले देखेको छैन । त्यो बेलामा हिउँ सङ्ग खेल्ने पहिलो मौका पाएको थिए । म दोलखामानै जन्मेको हुर्केको भएतापनी त्यस वेलासम्म हिउँसङ्ग त्यति नजिकबाट साक्ष्यात्कार गर्न पाएको थिइन। ओढेको छाता हिउँले सेताम्य हुन्थे। आफू भन्दा उमेरले अग्रज तथा माथिल्लो कक्षाको साथीहरु हिउको डल्ला बनाएर एकअर्कालाई हिउँले हिर्काउदै मिल्ने साथीसङ्ग खेल्दै ह्याप्पी भ्यालेन्टाइन डे भन्दै उत्सव मनाउन लागिपरेका थिएँ।

मनले यस्तो सोच्थ्यो कि हिउँ परेको दिन ह्याप्पी भएर रमाउन पाउँदा भ्यालेन्टाईन भन्नू पर्दो रहेछ। मैले पनि त्यस्तै सोचेर साथी सर्कलमा हिउँको वर्षासङ्गै उफ्रदै भ्यालेन्टाइनको अर्थ बिना नै ह्याप्पी भ्यालेन्टाइन डे मनाएको थिएँ । नढाटी भन्दा त्यस वेला सम्म मैले भ्यालेन्टाईन डे को अर्थ छर्लङ्ग हुने गरि बुझेको थिएन । सायद त्यो दिन कलेजमा पढाइ भएन, दिउँसो दुई बजेतीर घर फर्कने निधो गरेर हिउँ पर्दै गर्दा छाता ओढेर आफ्नो बाटो लागे ।

कलेजबाट पन्ध्र मिनेट हिडेपछी कलेजको बार आउथ्यो, त्यस बारको पछिल्लो पट्टि साघुरो बाटो, करिव दुई मिनेट हिडेपछी डाँडाबाट पारीपट्टी मेरो बस्ने ठाउँँ। डाँडामा एउटा पिपलको सानो बोट र बोटनेरको चौतारी,  पारीपट्टी  थरीथरीका घरहरु, वरपर सुनसान वतावरण, चराहरुको चिरविर आवाज बाहेकको केही आवाज नसुनिने, डाँडाबाट तल खेतियोग्य जमिनमा तरकारी खेती लगाउन व्यस्त केही कृषकहरु आफ्नै धुनमा व्यस्त थिए। पिपलको फेदमा एकअर्काको आलिङ्गनमा मन्त्रमुघ्द एक जोडि प्रेमीहरु मेरा आँखा अगाडि छर्लङ्गै देखिन्थे। मन चंचल भयो, जानू पर्ने चौतारी हुँदै, अगाडिको दृश्य कुनै प्रेमकथामा अनुभुती हुने दृश्य भन्दा कम थिएन। अलिक माथि बनाएर ओढेको छातालाई केही तल काँधसम्म ल्याएर अगाडिको दृश्य एकटक हेरिरहेँ। हिउँ पर्दै थियो, चराहरु चिरविर गर्दै थिए, पिपलले प्रेमिल जोडिलाई भरपुर अक्सिजन दिदै थियो भने म चाहिँ आफूले आफूलाई अफ सिजनमा उभ्याइरहेको थिएँ।
   
कालो जिन्स्को पाइन्ट, कालो ज्याकेटको टोपिको वरिपरि भुवाले ढाकेको, आर्यन अनुहारमा ट्रीम गरेको दाह्री अनि दाह्री भन्दा केही लामा मिलेका जुङ्गा, हल्का छाँटेको कपाल, दायाँ बाट बायाँतर्फ फर्काइएको जुल्फिमा छुस्स छुस्स कपासरुपी हिउँ, श्वास फेर्दा शरीरभित्रबाट वास्पिकरण भएर निस्केको श्वाससङ्गैको वाफ । आल्निङ्गनमा एउटि प्रेमिका।

कालोमा हल्का रातो हाइलाइट गरेको थाइकट भन्दा केही लामो कपाल, मिलेको जिउडाल, हल्का छिनेको कम्मर अनि मिलेका सग्ला गोडा, लगाइएको कालो रङ्गको स्कर्ट र दुई इन्च बरावरको हिल । लगाइएको कोट सङ्गै एक झुप्पा उहीँ कपाललाई उहीँ आर्यानको हातहरुले सङ्गेलिएका, ठिक अर्को दिशातर्फ उस्तै वास्पिकरण भै श्वाससङ्गैको वाफ।

हिउँ परिरहँदा न्यानो बनिरहेको मौसममा आफूले ओढेको छातालाई अलिक नजिक ल्याउँदा झनै न्यानो महशुस भएको थियो भने अर्को तर्फ मौसम तताउने फिल्मी दृश्यले मनलाई अन्त कतै डोहोर्याइसकेको थियो। साच्चै त्यहा एक फिल्मी कहानी लुकेको थियो। फिल्म हरु यस्तै दृश्य देखेपछी बन्छन या फिल्ममा त्यस्ता दृश्यहरु देखाएपछी त्यसको नक्कल त्यसरी गर्छन मैले अझै सम्म मेसो पाउन सकेको छैन। आलिङ्गनमा बाधिनेहरुले कति सम्म मजा लिएका थिए तर मैले दृश्य हेरेरै भए पनि मन पर्ने मुभी हेर्दा जतिको मज्जा लाग्छ त्यो जतिकै मज्जा लिइरहेको थिएँँ।

मैले जानू पर्ने बाटोको ठिक अर्को पट्टिबाट एक जोडि अधबैंसे कृषक परिवार त्यही बाटो हुँदै आउदै रहेछन। कालो पृष्ठभुमिमा गाउँघरतिर बुढापाका हजुरआमाहरुले लगाउने रातो टीका जस्तै बुट्टा भएको कमिज सुरुवाल, कमिजबाहिर कालो रङ्गको स्टकोट, भादगाउँले टोपी अनि टोपिमा कानको नजिकै एउटा थुङ्गा फूल, काँँधमा ठूलो तराजु आकारको तरकारी बोक्नेमा केही झुप्पा धनियाको पात सहित एक कृषक अनि उस्तै रङ्गको हाकुपोटासीमा उनकै श्रीमती नेवारी भाषामा ठूलो ठूलो स्वर गर्दै आउदै थिए।

एकअर्काको अङ्गालोमा दुनिँया विर्सिएको त्यो प्रेमील जोडिलाई ती कृषकका आवाजले ध्यानभङ्ग गरायो। उनिहरुलाई त कतिको नमज्जा लाग्यो तर मलाई भने साह्रै नमज्जा लागेको थियो। एक आपासमा छुटिएका ती जोडिहरुलाई कृषकले केही ठुला आँखा बनाउदै हिड्दै म भएतिर अघि बढे भने त्यही मौकामा म पनि चौतारी तर्फ अगि लागे। ती कृषक भन्दै थिए- "जमाना पनि कस्टो आयो आयो। जे मन लाग्यो ट्यही गर्छन आजकालका केटाकेटिहरु । हट टेरिका के के डेखेर ल्याउछ ल्याउछ।" सङ्ग सङ्गै उनिहरुकै भाषामा महिलाले पनि के के भन्दै चाडो चाडो अघि बढ्दै थिइन।
  
चौतारीको नजिकै पुग्दा अङ्गालो बाट छुटिएका जोडिहरु एकअर्कालाई हेर्दै थिए। त्यतिकैमा प्रेमिकाले प्रेमिको जुल्फिमा लागेको हिउँको थुप्रोलाई आफ्ना हातले हल्लाउदै झार्दै भन्दै थिइन -"ह्याप्पी भ्यालेन्टाइन डे"। त्यही वाक्यमा टू थपेर केटाले पनि उच्चारण गरे र उनै कृषकहरु लागेको बाटो तर्फ अघि बढे। मलाई पनि हल्लाउन मन लाग्यो आफैले ओढेको छाता, एक फन्को घुमाउदा थोपरिएका छातामाथिको हिउँ एकै गोलाईमा सरर झर्दथे। एकैछिनको त्यो दृश्य पश्चात्  भएको भङ्गता देखेर चिरविराईरहेका चराहरु मौन रहे। पारी पट्टि थरिथरिका घर, तल फाँट, फाँट सङ्गैको किनारामा बगिरहेको मनोहरा उही थ्यो। मात्र त्यही केन्द्रिय दृश्य भङ्ग भएको थियो। अब त त्यँहा केवल म मात्र थिएँ। ओढेको छाता बन्द गरेर एकै छिन आफ्नो जुल्फिमा पनि हिउँ पारेँ, हिउँ त वस्यो मेरो पनि जुल्फी जो थ्यो। तर त्यसरी बसेको हिउको थुप्रोलाई ह्याप्पी भ्यालेन्टाईन भन्दै झारीदिने मेरो लागि कोहि थिएन। अनि आफैले ती हिउँ हरुलाई झार्दै केही सुनिने आवाजमा भनेँ- "ह्याप्पी भ्यालेन्टाईन डे"।

घर पुगेर कपडा चेन्ज गर्दा सम्म हिउँ परिरहेकै थियो। भोक तिर्खालाई अहिले आफ्नै ठाउँमा आसन ग्रहण गराउदै उठेका मनका छालहरुलाई लिपिबद्द गर्न कल्पनाको आफ्नो भ्यालेन्टाइनलाई समर्पित गर्दै आफ्नो डायरीमा यी हरफहरु लेखेँँ। लेखेको हरफको पहिलो अंस यस्ता थिए,

दृश्य त्यस्तै मौसम उस्तै, चुनेँ तिमिलाई मैले
कल्पनाको आलिङ्गनमा, उनेँ तिमिलाई मैले
जुल्फी ढाक्ने सेता सेता, हिउँका थुप्रो लाई
हास्दै झार्छ्यौ भन्ने सप्ना, बुनेँ तिमिलाई मैले 



Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य