अवोधको वेदना

झ्यालको पर्दा लाई बिहानीको सिरेटोले हल्का धकेलेछ।त्यही मौकामा सुर्यको किरणले मस्त निद्रामा परेका मेरा आँखालाई चुम्बन गरे।करिव विहानको साढे सात बजेको थियो, म निद्राबाट बिउँझिदा।आज संविधान दिवस, सार्वजनिक विदा भएकोले अफिस जान हतार गर्नु पर्ने आवश्यकता थिएन।बिस्तारै उठेर वरन्डामा निस्किएँँ। एक झोका चिसो बतासले मेरा शरीरभरि स्पर्श गरेर विलय भयो। मन आनन्दित भयो, फ्रेस भएँँ। वरन्डा बाट अरनिको राजमार्गमा एकादुई गाडी गुडिरहेको देखिन्थ्यो। आकाश सफा थियो, नजिकको सडक चकमन्न थियो। घर अघिल्तिरको घरमा सुनसान थियो, लाग्यो सबैले संविधान दिवसको भरपुर उपयोग गरिरहेका छन, विहानीको मीठो निद्राको साथमा।

     
घर अगाडिको अर्को घरको वरिपरि पानी नछिर्ने गरि रबरको पाताले छानो छाइएको छ। चराहरुको चिरविर आवाज एकै छिन घन्किए। एक जोडी सारौ यसरी कराउदै थिए कि केही अप्ठ्यारो हुँदै छ, एक हुल भगेरा अनिष्ट भए जसरी आवाज निकाल्दै थिए। अचानक एउटा काग परेवाको गुडवाट हतार हतार निस्कियो,उड्न सक्ने अवस्थाको परेवा को बच्चा रवरको छानोमा फ्यात्त झर्यो। मरिसकेको थियो या झरेर मर्यो ठम्याउन सकिन। एक जोडि परेवा हुरुरु उडेर आए।वच्चा परेवाको वरिपरि घुमिरहे। एकैछिन मा एउटा परेवा उडेर गयो।अर्को त्यही बच्चा परेवाको लास वरिपरि घुमिरह्यो। घरि गलामा टेक्दै, घरी चुच्चोमा चुच्चो जोड्दै अनेकन प्रयास गरिरह्यो। लाग्थ्यो एउटि आमाले मृत वच्चालाई प्राण भर्न अनेकन प्रयास गर्दै छिन। ती आमा परेवालाई असह्य भएको थियो। केही कागहरु जम्मा भए। ती आमा परेवालाई मृत छोरीको लास जोगाउन हम्मे हम्मे परेको थियो। कागहरु हाप र झाप गरिरहेका थिए भने मृत परेवाको टाउको आफ्नो चुच्चोले उठाउन तल्लिन ती आमा भक्कानेझै गरि मृत छोरीको लासलाई छोपेर जोगाउदै थिइन।मन चसक्क भयो ।
     
लगभग पन्ध्र मिनेट पछि उडेर गएको परेवाले एक हुल परेवा साथमा लिएर आयो। परेवाहरु लासको वरिपरि घुम्दै थिए। दुइ परेवा एक ठाउँमा बसेर एकअर्कालाई टुलुटुलु हेरिरहे। उनिहरुले सक्दो कोसिस गरे प्राण बचाउन, तर वोलेको बोली, हानेको गोली र गएको प्राण कहिलेपो फिर्ता हुन्थ्यो र। घटना यस्तो देखिदै थियो कि एक फुल्दै फक्रन लागेको कोपिलामाथि बज्रपात भएको छ। एक अबोध वालिका विनाकारण आफ्नै घरमा वलात्कृत भै प्राण त्यागेकि  छ। परिवारमा सन्नाटा छाएको छ।  उडेर गएको परेवाले सायद न्यायको लागि भिख मागेको थियो। ती आमा परेवाले त्यहा आएका हरेक परेवालाई हारगुहार गरिरहेकी थिइन। केही हुन्छ कि, मरेको आस ब्युत्याउन खोज्दै थिइन। काग उता का..का... गरि अझै धम्क्याउदै थियो, कहिले छाड्लान र लासलाई अझै चिथोरौ झै गरेर। वातावरण यस्तो थियो कि त्यहा सबै भेला भएका छन।अधिकारकर्मी, संचार जगत, सुरक्षाकर्मि, आफन्त इस्टमित्र, अनुसन्धान व्युरो आदि इत्यादि सबका सब। कागका बथान सबै परेवा हुदा पनि दुई चोटि झम्टिएर लास थुत्न प्रयत्न गरेकै थिए। कसो कसो गरि उम्काउन दिएनन परेवाहरुले।

   
ती छोरी परेवाको आत्मा वरिपरि घुमिरहेको छ। आमा र बाबू न्यायको लागि हारगुहार गरिरहेका छन। भेला भएका एक हुल परेवा केही समय पछि उडेर गए। अब त ती एक जोडि परेवाले प्राण भर्न त के मृत शरीर जोगाउन नि हम्मे पर्ने छ। नभन्दै आखै अगाडी मृत लास खोसियो। अब भकानिएर आफै प्राण त्याग गर्न बाहेक अरु कुनै उपाय ती जोडि परेवामा रहेन। सारमा भन्दा अब त दोषीलाई कार्वाही गर्न गराउन उनिहरुसङ्ग प्रमाण नै रहेन। 
 
आज संविधान दिवस। कोहि दिवस हर्सोल्लास पुर्वक मनाउदै छन, कोहि दिवस नमनाउने निर्णय गर्दै संचार माध्यमलाई जानाकारी गराउन व्यस्त छन। देशको एउटा कुनामा एउटि आमालाई न्यायको नाममा छोरीको शोकमा पनि दिवशको उत्सव मनाउनको लागि वाध्य पारिदै छ। उडेर आकाशमा कसैको नोक्सान नगर्ने ती शान्तिका दुत परेवाको जिवनलाई अनाहक पुत्री शोकमा पारिएको छ। यस्तै यस्तै कथा भित्र लुकेका व्यथाहरुलाई हेर्दा र सोच्दासोच्दै एघार बजिसकेछ। भोक लागेको पत्तो भएन । 
 
दिवस मनाउने वेला मनाउला पहिला निर्दोष अनुहारमा समृद्दिको चमक आओस। न्याय स्वयमसिद्द बनोस। छोरीचेली निर्धक्क हिड्न पाउन। विरोधीहरुको लागि विरोध बहाना नबनोस। अपराध र अपराधी कानुनी कठघरामा बाधिउन।कानुनी राज्यमा सवैले अपन्त्व महशुस हुने गरि जन्मन पाउन, हुर्किन पाउन, जिउन पाउन र मर्न पनि पाउन। हो अनि मनाउला दिवस, कानुनी राज्यको दिवस।

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५